सर्लाहीमा जेसिबीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या, पुरेर भागे चालक
काठमाडौं - सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । सामान्य विवादमा जेसिबीको बकेटले हिर्काएर हत्या श्रेष्ठको हत्या भएको हो ।
हत्यामा संलग्न रहेको आरोपमा जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ ठेकेदार दाहालसँगै वडा अध्यक्ष श्रेष्ठ सहितका टोली सौन्दर्यीकरण भईरहेको मुखलाल दास पोखरीको निरीक्षण गर्न गएका थिए ।
त्यही क्रममा सामान्य विवाद हुँदा आक्रोशित जेसिबी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ।
हत्यापछि वडा अध्यक्ष श्रेष्ठलाई त्यही पुरेर चालक फरार भएका थिए । प्रहरीले सूचना पाउने बित्तिकै घटनास्थल पुगेर शव गाडेको ठाउँबाट शव निकालिएको बताइएको छ ।
के कारणले हत्या भएको खुल्न सकेको छैन । अहिले दुई जनालाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस