काठमाडौं - आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्यान्डविरुद्व खेल्ने भएको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी प्रतियोगितमा आज दिउँसो ३ः१५ बजे नेपाल र थाइल्यान्डबी खेल्न लागेका हुन् ।

गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो ।

यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग पराजित भएको थियो । उक्त खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको हो ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् ।