बेझाड - तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय एक शिक्षकको भरमा सञ्चालनमा छ । यहाँ छ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ ।

विद्यालयमा महीनाभरिमा दश दिनमात्र पढाइ हुने गरेको छ । अरु दिन विद्यालय खोल्ने र बन्द गर्ने मात्र काम हुन्छ । चालू शैक्षिक सत्रमा छ विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । उनीहरुमध्ये चार विद्यार्थी एकै परिवारका तथा बाँकी दुई छुट्टाछुट्टै परिवारका हुन् ।

विद्यार्थी नियमित नआउँदा दश दिनभन्दा बढी पढाइ नहुने सो विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढकाल बताउँछन् । ‘बस्ती पातलिँदै गएको छ, गरीब तथा विपन्न परिवारको मात्र बसोबास छ, विद्यालय जानुपर्छ भन्ने मानसिकता अभिभावक र विद्यार्थीमा छैन’, उनले भने । विद्यालय जानेभन्दा उनीहरु दाउरा खोजेर सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा आसपासका होटलमा बिक्री गर्न जाने गरेका छन् ।

विद्यार्थी सङ्ख्या घटदै गएपछि तथा विद्यार्थी नियमित विद्यालय आउन छाडेपछि सहायक प्रधानाध्यापकका रुपमा कार्यरत दामोदर घिमिरेले वैशाख २१ गते राजीनामा दिए । अहिले प्रधानाध्यापक ढकाल एक्लैले विद्यालय चलाएका छन् । उनी पनि विद्यार्थी राजीनामा दिने तयारीमा छन् । ढकालले २०६१ जेठ १ देखि विद्यालयमा पढाउँदै आएका छन् । ‘भदौ १ गतेदेखि स्थानान्तरणको प्रक्रिया अगाडि नबढे राजीनामा दिने सोच बनाएको छु’, उनले भने । विद्यालयमा एक जना कार्यालय सहयोगी पनि हुन् ।

हाल कक्षा १ मा एक, कक्षा २ मा दुई र कक्षा ३ मा तीन विद्यार्थी अध्ययनरत छन् । उनीहरु सबैलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा कार्यालयसहित चार कोठा छन् । भौतिक पूर्वाधारको समस्या छैन । विद्यालय बेँशीमा सञ्चालन गर्न सके विद्यार्थी सङ्ख्या बढ्ने देखिन्छ । विद्यालय स्थानान्तरणका लागि सरोकारवाला निकायले चासो दिएको पाइँदैन । गत वर्ष यहाँ तीन शिक्षक कार्यरत थिए ।

विद्यार्थी न्यून भएपछि सहायक प्रअ र निजी स्रोतका शिक्षकले राजीनामा दिएका हुन् । गत शैक्षिक सत्रमा १० विद्यार्थी भर्ना भएका थिए । गाउँबाट बसाइँसराइ गरेर अन्यत्र जाने क्रम बढेकाले ग्रामीण भेगका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले बताए ।

‘न्यून विद्यार्थी भएका विद्यालयलाई नजिक पायक पर्ने विद्यालयमा समायोजना गरेर वा स्थानान्तरण गरेर सञ्चालन गर्न सकिन्छ’, उनले भने । अभिभावकको जोड सकेसम्म आफ्ना नानीहरुलाई घाँसपात, मेलापात र घरधन्दामै लगाउन पाए हुन्थ्यो भन्नेमा छ । अभिभावकसँगै जङ्गलमा दाउरा खोज्ने र राजमार्गका छेउछाउका होटलमा बिक्री गर्नमै उनीहरु व्यस्त रहेको पाइन्छ ।