काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा प्रदर्शन भएको छ ।

रास्वपाका नेता कार्यकर्ताहरुले आज कास्कीको पोखरामा प्रदर्शन गरेका हुन् । पोखराको पृथ्वीचोकमा अहिले रास्वपा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् ।

सभापति रवि लामिछानेलाई पनि पोखरा पुर्‍याइएको छ । वीरगन्जको साना पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाबारे बयान सकाएर प्रहरीले केहीबेर अघि रविलाई पोखरा पुर्‍याएको हो ।

पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।पृथ्वीचोकमा भइरहेको प्रदर्शनमा सहभागीहरूले ‘मानव अधिकार कायम गर, मानव अधिकार उल्लंघन गर्न पाइँदैन, आईजीपीलाई अनुसन्धान गर, भ्रष्ट सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे’ लगायतका नाराहरू लगाइरहेका छन् ।