काठमाडौं - म्यानचेस्टर सिटी इएफएल (कारबाओ) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडलाई उसैको मैदानमा ३–१ गोलले हराउँदै सिटीले फाइनलमा स्थान बनाएको हो ।

सिटीको जितमा बर्नाडो सिल्भा र रियाद महारजेले गोल गरे । सिटीले एक गोल युनाइटेडबाट आत्मघाती उपहार पाएको थियो । युनाइटेडका मार्कस रासफोर्डले सान्त्वना गोल  फर्काए ।

सिल्भाले १७ औँ मिनेटमा कायल वाल्करको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३३औँ मिनेटमा महारेजले सिल्भाको पासमा गोल गर्दै सिटीको अग्रत दोब्बर बनाए । ३९औँ मिनेटमा युनाइटेडका आन्द्रेस परेराको प्रहार आत्मघाती गोलमा परिणत भएपछि पहिलो हाफमा सिटी थप बलियो बन्यो ।

७०औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र सिटीले सहजै फाइनलमा स्थान बनायो । फाइनलमा सिटीले लेस्टर सिटी र एस्टन भिल्लाबीचको विजेतासँग खेल्नेछ ।लेस्टर र एस्टनभिल्ला बीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।