सर्वोच्चद्वारा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
काठमाडौं - सर्वोच्च अदालतले पक्राउउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सारंगा सुवेदीको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।
प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार नै रिहा गर्न आदेश दिएको प्रवक्ता अच्युत कुइँकेलले बताए ।
विद्युतीय अपराधको कसुरमा उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले मुद्दा चलाएको थियो । सो कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी छुटेका थिएनन् ।
उनलाई फेरि आपराधिक लाभको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको थियो । तर प्रसाईंका छोरा निराजन प्रसाईंले बुबालाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस