यू-१९ विश्वकप छनोट : कुवेतमाथि नेपालको शानदार जित
काठमाडौं- युएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको छ।
दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो ।
१३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन र १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भएको हो।
छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।
लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ । कुवेतका लागि कप्तान तथा ओपनर जिफा जिलानीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए । कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २-२ विकेट लिए ।
सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् । रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् ।
यस्तै कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १-१ विकेट लिए । मनिषाले पनि २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।
फेसबुक पेज Like गर्नुहोस