काठमाडौं - सुरुआती झट्का निस्तेज पार्दै अमेरिकी सेरेना विलियम्सले आइतबार यूएस ओपनको अन्तिम १६ को यात्रा तय गरेकी छन् ।

यसका लागि उनले आफ्नै देशकी सलोनी स्टेफन्सलाई २–६, ६–२, ६–२ ले हराइन् । न्युयोर्कमा तेस्रो वरीयताप्राप्त सेरेनाले पहिलो सेट गुमाएपछि खेलमा उत्कृष्ट पुनरागमन गरिन् । सन् २०१३ को अस्ट्रेलियन ओपनमा सलोनीले सेरेनालाई हराउँदै सनसीपूर्ण रूपमा सेमिफाइनल यात्रा तय गरेकी थिइन् । त्यतिबेला सलोनी १९ वर्षकी किशोरी थिइन् । सन् २०१७ मा भने उनी यूएस ओपनकी विजेता पनि रहिन् । न्युयोर्कमा उनलाई २६ औं वरीयताप्राप्त थियो ।

खेलपछि सेरेनाले भनिन्, ‘आजको खेलमा गाह्रो भयो, सलोनीविरुद्ध खेल्दा मैले अधिकांश समय बढी मिहिनेत गर्नुपरेको छ ।’ पहिलो सेटको हारपछि सेरेनामा अर्को एक स्तब्धपूर्ण हारको डर देखिएको थियो । यस्तोमा सेरेनाले पनि मानिन्, ‘मैले पहिलो सेटमा खासै धेरै भूल गरिनँ, तर सलोनीको खेल निकै उत्कृष्ट थियो ।’

दोस्रो सेट जितेपछि मात्र सेरेना ढुक्क देखिएकी थिइन् । ३८ वर्षीया सेरेना कीर्तिमान बराबरी हुने २४ औं ग्रान्ड स्लाम जित्ने अभियानमा छिन् । अब उनले क्वाटरफाइनल प्रवेशका लागि १५ औं वरीयताकी मारिया साकारीको समाना गर्नेछिन् । साकारी तिनै खेलाडी हुन्, जसले यूएस ओपनको तयारीका रूपमा भएको वेस्टर्न एन्ड साउथर्न ओपनमा सेरेनालाई हराएकी थिइन् । सेरेनाले अन्तिम पटक सन् २०१७ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् ।

बुल्गेरियाकी स्भेटाना पिरोन्कोभाको प्रतियोगितामा अपूर्व यात्रा कायम रह्यो । उनले १८ औं वरीयता प्राप्त डोना भेकिचलाई ६–४, ६–१ ले हराइन् । अहिलेसम्म कुनै सेट नगुमाएकी पिरोन्कोभाले अर्को चरणमा फ्रान्सकी एलिज कोर्नेटको सामना गर्नेछिन् । कोर्नेटले भने मेडिसन केयसविरुद्धको खेलमा विजयी रहिन् । खेल ७–६, ३–२ ले कोर्नेटको पक्षमा रहेको बेला घाँटीको चोटका कारण केयसले खेल छाडेकी थिइन् । बेलारुसकी भिक्टोरिया अजारेन्काले इगा स्वाटेकलाई ६–४, ६–२ ले हराइन् ।

पुरुषतर्फ गत वर्षका उपविजेता रुसी खेलाडी डानिल मेडभेडेभ भने प्रतियोगिताको तेस्रो चरण पुगेका छन् । उनले अमेरिकी खेलाडी जेजे उल्भसलाई ६–३, ६–३, ६–२ ले हराए । उनले अब अमेरिकाका फ्रान्सेस टिफोएविरुद्ध खेल्नेछन् । टिफोएले भने हंगेरीका मार्टन फुकसोभिचलाई ६–२, ६–३, ६–२ ले हराए ।

दोस्रो वरीयताप्राप्त डोमिनिच थिएमले भने मारिन सिलिचलाई ६–२, ६–२, ३–६, ६–३ को सेटमा पन्छाए । जितपछि थिएमले भने, ‘खेल पाँच सेट जान सक्ने स्थिति थियो, मेलै ठीक स्थितिमा खेल आफ्नो नियन्त्रणमा लिन सकें ।

थिएम तीनपल्ट ग्रान्ड स्लाम फाइनल पुगे पनि तीनै अवसरमा पराजित भएका छन् । थिएमले अब क्यानडेली खेलाडी फेलिक्स एगुरको सामना गर्नेछिन् । यो साता कुनै पनि खेल नगुमाएका एगुरले कोरेन्टिन माटेटमाथि अहिलेसम्मकै सबैभन्दा सजिलो जित निकाले । उक्त खेलमा उनी ६–१, ६–०, ६–४ ले वियजी रहे । उनी ग्रान्ड स्लाम प्रतियोगिताको अन्तिम १६ मा पुगेका यो पहिलोपल्ट हो । उनले अब थिएमलाई बलियो चुनौती पेस गर्न सक्नेछन् ।