काठमाडौ - विपक्षी दलहरूले सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले सरकार विपद्‌मा उदासीन भएको र जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सरकारले पार्टीगत र निहित स्वार्थमा मात्रै ध्यान बताए ।

उपमहासचिव बस्नेतले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने बैठकमा सहमति भएको बताए । उनले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने विषयमा पनि छलफल भएको बताए ।

‘संसदको विशेष अधिवेशन आवश्यक हुनसक्छ । यसबारेमा बैठकमा कुरा भएको छ,’ उनले भने । बैठकले प्रतिपक्षी दलहरूको कामलाई एकीकृत गर्न तीन सदस्यीय कार्यदल गठन छन् ।

रास्वपाका नेता विराजभक्त श्रेष्ठका अनुसार कार्यदलमा माओवादी केन्द्रका उपमहाचिव शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपाका नेता शिशिर खनाल छन् ।