कस्मिर भ्रमणका लागि निस्केका राहुललाई श्रीनगर विमानस्थलबाट फर्काइयो
काठमाडौं - कस्मिर भ्रमण गर्न निस्केका राहुल गान्धीलाई श्रीनगर विमानस्थलबाट फर्काइएको छ। शनिबार काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी आफ्ना दलका नेतासहित तनावग्रस्त क्षेत्र जम्मु कस्मिरको भ्रमणमा निस्किएका थिए।
प्रहरीले त्यहाँ नजान आग्रह गरेता पनि गान्धी अन्य नेताहरुसँग भारत प्रशासित क्षेत्र कस्मिरको श्रीनगर त पुगे तर श्रीनगर विमानस्थलबाटै उनलाई दिल्ली फर्काइयो।
बीबीसीहिन्दीका अनुसार उनलाई विमानस्थलबाट प्रहरीले बाहिर निस्कन दिएन। रिपोर्टिङका लागि विमानस्थल पुगेका पत्रकारलाई समेत प्रहरीले रिपोर्टिङ गर्न नदिएको जनाइएको छ।
गान्धीसँगै काँग्रेसका नेता गुलाम नबी अजाद, आनन्द शर्मा, केसी वेणुगोपाल, सीपीएम महासचिव सीताराम येचुरी, डीएमका नेता तिरुची शिवा, शरद यादव टएएमसीका नेता दिनेश त्रिवेदी, एनसीपीका नेता माजिद मेमन र सीपीआइका महासचिव डी राज कस्मिर भ्रमणमा निस्किएका थिए।उक्त प्रतिनिधिमण्डलले श्रीनगरका मानिसहरु तथा विभिन्न पार्टीका नेताहरुसँग भेटेर कस्मिरको अवस्थाबारे बुझ्ने कार्यतालिका थियो।
भारत सरकारले धारा ३७० हटाएर जम्मु कस्मिरलाई प्रदान गरेको विशेषाधिकार हटाएपछि कस्मिरका जनताहरु सरकारदेखि रुष्ट बनेका छन्।
हिंसा चर्कने त्रासका कारण सरकारले यतिबेला टेलिफोन, मोबाइल, इन्टरनेट लगायतका सुविधा बन्द गरेर त्यहाँ धारा १ सय ४४ लागु गरेको छ।
फेसबुक पेज Like गर्नुहोस