काठमाडौं - नेपाल प्रहरीका एकजना कर्मचारीले युवकमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएको छ । आइतबार साँझबाट सामाजिक सञ्जालमा भाइरल भिडियोमा सडकमा चेकजाँच गर्ने क्रममा ती प्रहरी कर्मचारीले युवकमाथि ‘बुट’ नै बजारेका हुन् ।

प्रहरी कर्मचारीहरुले सडकमा दुई/तीन वटा मोटरसाइकल रोकेर चेकजाँच गरिरहेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । सडकको छेउमा केही युवाहरु पनि उभिरहेका छन् ।

त्यही क्रममा प्रहरी कर्मचारीले कोलाई फोन गर्ने ? पावर देखाको भन्दै निर्घात कुटपिट गरेको सुन्न र देख्न सकिन्छ । सार्वजनिक भिडियोले प्रहरीको ‘मुस्कान सहितको सेवा’ नारालाई नै खिल्ली उडाएको छ । सामाजिक सञ्जालमा ‘रक्षक नै भक्षक’ बनेको भन्दै घटनामा संलग्न प्रहरीमाथि कडा कारबाहीको माग उठाइएको छ ।

तर उक्त भिडियो कहाँ र कसको हो ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । चितवनको भरतपुरमा सो घटना भएको भनिए पनि पुष्टि भने भएको छैन । यता चितवन प्रहरीले यस घटनाको आन्तरिक रुपमा अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले अहिलेसम्म घटना कुन ठाउँ र कहिलेको हो भन्ने थाहा नभएको बताए ।

उनले भने, ‘चितवनको घटना भनिएको छ, तर यकिन पुष्टि भएको छैन । कहिले र कुन ठाउँको भिडियो हो खुल्न सकेको छैन । उजुरी पनि अहिलेसम्म आएको छैन । आन्तरिक रुपमा अनुसन्धान थालेका छौँ । त्यसरी कुटपिट गर्नु नपर्ने हो । उनलाई कानुन अनुसार कारबाही गर्छौँ ।’