पुस लाग्नेबित्तिकै देशभर चिसो बढ्यो, उपत्यकाको तापक्रम यो वर्षकै कम
काठमाडौं - पुस लाग्नेबित्तिकै काठमाडौं उपत्यका सहित देशभर चिसो ह्वात्तै बढेको छ । वर्षा र हिमपात रोकिएपछि चिसो झन् बढेको हो ।
उपत्यका र तराईसहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । तराईमा मंगलबार बिहानदेखि लागेको हुस्सु नहट्दा र देशका अरु ठाउँमा पनि बिहानपख बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।
तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् ।
तराईमा बाक्लो हुस्सुका कारण चिसो हावा चले पनि यसलाई शितलहर भन्न नमिल्ने मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार शितलहर हुनका लागि ४८ घण्टा लगातार हुस्सु वा कुहिरो लाग्नुपर्ने र औसतभन्दा ५ देखि ६ डिग्री सेल्सियस तापक्रम घट्नु पर्छ । अहिले यो अवस्था आइनसकेको तर चिसो चाहिँ बढेको उनले बताए ।
यसैबीच काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको थियो । अझै तापक्रम घट्न सक्ने मौसमविद् पौडेलले बताए ।
आज पनि तराईका धेरै ठाउँमा दिनभर नै हुस्सु लाग्ने सम्भावना छ । अरु ठाउँमा दिउँसोपछि हुस्सु हटे पनि मौसम पूर्णरुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस