एमालेका पूर्वउपाध्यक्ष भीम रावलसहित तीन जना नेताको जिम्मेवारी खोसियो
काठमाडौं - नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावलसहित तीन जना नेताहरूको जिम्मेवारी खोसेको छ । एमालेले पार्टी कार्यालय बनाउन दान लिएको विषयमा आलोचनात्मक धारणा राख्ने रावलसहित तीन जना नेतालाई पार्टीको संगठित सदस्यबाट हटाएको हो ।
बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले भने, ‘कमरेड भीम रावल महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभयो, उपाध्यक्षका निम्ति आग्रह गरिएको कुरालाई मान्नुभएन, त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि हाम्रो वैधानिक व्यवस्था अनुसार सल्लाहकारमा रहनुभयो, त्यो सल्लाहकारको जिम्मेवारी पनि पूरा गर्नुभएन र अभिव्यक्तिहरू चाहिं पार्टी बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ ।’
रावलले पछिल्लो पटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाएका थिए । यसपछि गत ४ कात्तिकमा एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो ।
एमालेले पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाएपनि रावलले कुनै जवाफ दिएका थिएनन् । तर आजको सचिवालय बैठकले स्पष्टीकरण पत्र लेख्ने पाण्डे र तिमल्सेनालाई पनि ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
बैठकले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस