एजेन्सी - बोस्निया तथा इटालियन क्लब युभेन्टसका स्टार मिडफिल्डर मिरालेम पिजानिक स्पेनिस क्लब बार्सिलोना जान सहमत भएका छन् । इटालियन सञ्चारमाध्यमका अनुसार ३० वर्षीय पिजानिक आउदो समरमा बार्सिलोना जान सहमत भएका हुन् ।

बार्सिलोनाले यसअघि नै ब्राजिली युवा मिडफिल्डर आर्थर मेलोको स्थानमा पिजानिक नै ल्याउने योजना बनाइरहेको थियो । बार्सिलोनाले पिजानिकलाई ६० मिलियन युरो खर्च गर्न सक्ने अनुमान गरिएको छ ।

पिजानिक बार्सिलोना आउन सहमत हुँदा ब्राजिलका २३ वर्षीय आर्थर मेलोको बार्सिलोनामा भविष्य अनिश्चित बनेको छ । उनी युभेन्टस नै जान सक्ने आँकलन गरिएको छ । बार्सिलोनाले २०१६ मै पिजानिकलाई अनुबन्धको प्रयास गरे पनि लगातार तीन सिजनसम्म असफल भएको थियो ।

२०१६ मा इटालियन क्लब रोमाबाट युभेन्टस पुगेर अहिले चौथो सिजन बिताइरहेका पिजानिकले यो सिजन ३२ खेलमा ३ गोल र ४ असिस्ट दिएका छन् । उनले युभेन्टसबाट विभिन्न ६ उपाधि जितेका छन् ।