एजेन्सी - नेशन्स लिग फुटबलमा फ्रान्स र बेल्जियम विजयी भएका छन् । गएराति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोल अन्तरले हराएको हो भने बेल्जियमले आइसल्याण्डलाई ५–१ ले हराएको हो ।

फ्रान्स विजयी खेलमा डिजन लव्रेनले १३ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, ४३ औं मिनेटमा एन्थोनी मार्टियलको पासलाई सदुपयोग गर्दै एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई बराबरीमा फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा क्रोएसियाका डोमिनिक लिवाकोविकको आत्मघाति गोल गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो । तर ५५ औं मिनेटमा जोसिप ब्रेकालोले क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए ।

६५ औं मिनेटमा डायोट उपमाकोनोले फ्रान्सलाई ३–२ को अग्रता दिलाए । ओलिभर जिराउडले ७७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको ४–२ को जित सुनिश्चित गरे ।

यस्तै, गएराति नै भएको खेलमा चेल्सी स्टार मिक्की बत्सुवाइ चम्किँदा बेल्जियमले आइसल्याण्डमाथि सहज जित हात पारेको छ ।

खेलमा अग्रता आइसल्याण्डले ११ औं मिनेटमा होलबर्ट एरोन फ्रिडजोनसनको गोलबाट लिएको थियो । एक्सन विटसेलले १३ औं मिनेटमा बेल्जियमका लागि बराबरी गोल फर्काएका थिए । त्यसको चार मिनेटपचि मिक्की बत्सुवाइले बेल्जियमलाई २–१ ले अघि बढाए ।

डेरिस मार्टेन्सले ५० औं मिनेटमा बेल्जियमका लागि तेस्रो गोल गरे । केभिन डी ब्रुइनको पासलाई सदुपयोग गर्दै डेरिसले गोल गरेका थिए ।

६९ औं मिनेटमा बत्सुवाइले ब्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ४–१ ले अघि बढाए । ७९ औं मिनेटमा डी ब्रुइनीकै पासमा जेरेमी डोकुले गोल गर्दै बेल्जियमलाई शानदार जित दिलाए ।

समूह तीनको अर्को खेलमा पोर्चुगलले स्विडेनलाई २–० ले हरायो र तालिकाको शीर्ष स्थानमा उक्लियो । पोर्चुगल र फ्रान्सले समान ६ अंक जोडेका छन् । स्विडेन र क्रोएसिया अंक विहिन भएका छन् ।