काठमाडौं -  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागमा सोमबार महिलातर्फको फुटबलमा स्वर्णका लागि नेपालले भारतको सामना गर्दैछ । नेपाल सागको महिला फुटबलमा सधै रजत पदकमा सिमित हुँदै आएको छ । यो नेपालको लागि इतिहास रच्ने अवसर पनि हो । पोखरा रंगशालामा हुने फाइनल खेल आज दिउँसो २ बजे सुरु हुनेछ ।

साग क्रिकेट अन्तर्गत सोमबार पुरुषतर्फको स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रस्पिर्धा गर्दैछन् । यस्तै नेपालले कास्य पदकको लागि माल्दिभ्ससँग खेल्नेछ ।

पोखरा हुने आर्चरीमा सोमबार एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ । बक्सिङमा सोमबार विभिन्न ८ स्पर्धाको फाइनल हुनेछ । जसमा नेपालका कुल ९ खेलाडी फाइनल पुगेका छन् ।

जनकपुरमा हुने कुस्तीमा सोमबार दुई स्वर्ण पदकका लागि खेल हुनेछ । त्यस्तै, लगनखेलमा हुने साग अन्तर्गत जुडोमा सोमबार विभिन्न तौल समूहमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा हुने कबड्डी खेलमा सोमबार महिला र पुरुष दुवैको फाइनल खेल हुनेछ । पुरुषतर्फ भारतले श्रीलंकासँग खेल्नेछ । महिलामा नेपाल र भारतबीच खेल हुनेछ ।

टेनिस अन्तर्गत सोमबार महिला र पुरुषतर्फको सिंगल्सका खेलहरु हुनेछन् । साग अन्तर्गत सोमबार फेन्सिङ, पौडी तथा सुटिङका खेलहरु पनि जारी रहनेछन् ।