काठमाडौं - बाटो खन्ने क्रममा अबरोध गरेको भन्दै महिलालाई डोजरले उधिनेर फाल्ने डोजर चालक पक्राउ परेका छन् ।

बैतडीको दशरथचन्द नगरपालिका ग्वालेककी गौरी जोशीलाई बाटो खन्ने क्रममा डोजर प्रयोग गरी उधिनेर फाल्ने चालक किशोर बोहोरा पक्राउ परेका हुन्। उनीमाथि अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ।

डोजर आतंकबाट जोशी गम्भीर घाइते भएकी थिइन्। जग्गा विवाद मिलाउन भन्दै स्थानीय बासिन्दाले केही समय माग गरेका थिए। तर त्यस अगाबै डोजरले बाटो खन्न थालेपछि स्थानीयले अवरोध गरेका थिए।

सोही क्रममा डोज चालक बोहराले अवरोध गर्न आएकी जोशीलाई डोजरले उधिनेर फालेका थिए। घाइते भएका जोशीसहित ७ जनाको बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ।