महिला यू-१९ विश्वकप एसिया छनोट : थाइल्यान्डविरुद्ध नेपाल १०६ रनले विजयी
काठमाडौं - यूएईमा जारी आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले थाइल्यान्डलाई १०६ रनले पराजित गरेको छ ।
नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै अलआउट भयो । थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालकी कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २ तथा कप्तान पूजा महतोले १ विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । नेपालकालागि साना प्रविनले सर्वाधिक ५३ रन बनाइन । यस्तै, सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाए ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपाल तेस्रो खेलमा भने हिजो यूएईसँग १३ रनले पराजित भएको थियो ।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् ।
फेसबुक पेज Like गर्नुहोस