काठमाडौं - कोरोना महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल प्रतियोगिता पुनः सुरु भएको छ।

बिहीबार राति सुरु खेलमा सेभिल्लाले रियल बेटिसलाई २–० ले पराजित गरेको छ। जितसँगै सेभिल्लाले दोस्रो स्थानको रियल मड्रिडसँगको दूरी घटाएको छ।

२८ खेलबाट ५० अंक जोडेको सेभिल्ला अंक तालिकाको तेस्रो स्थानमा छ। एक खेल कम खेलेको रियल मड्रिड ५६ अंकसहित दोस्रो स्थानमा छ।

२७ खेलबाट ५८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ। २८ खेल खेलेको बेटिस ३३ अंक जोड्दै तालिकाको १२औं स्थानमा छ।

खाली रगंशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।खेलको ५६औं मिनेटमा लुकास ओकाम्पोसले पेनाल्टिमार्फत गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए। ६२औं मिनेटमा रेगेस फर्नान्डोले थप १ गोल गर्दै टोलीको जित सुनिश्चित पारेका हुन्।