काठमाडौं - रुकुम पश्चिमको चौरजहारी हत्याकाण्ड घटनामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।

आइतरबार जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा पेश गरेको हो । चौरजहारी-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले नवराज विकसहित ६ जनाको क्रुरतापूर्वक सामूहिक हत्या गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको स्रोतले बताएको छ । प्रतिवादीमध्ये २९ जना पक्राउ परिसकेका छन् भने ५ जनालाई फरार छन् । 

प्रहरीले पनि नवराज र उनका ५ जना साथीहरूलाई हत्या गरेर भेरीमा फालिएको निष्कर्ष निकालेको छ ।

गत जेठ १० गते चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज १८ जनाको समूह लिएर केटीको गाउँमा पुगेका थिए । त्यसक्रममा केटा पक्ष र केटी पक्षका गाउँलेबिच झडप भएको थियो ।

उक्त घटनामा नवराज सहित उनका ५ जना साथीले भेरी नदीमा डुबेर ज्यान गुमाएका थिए । ३ जनाको सोही दिन र अन्य तीन जनाको शव फरक–फरक मितिमा फेला परेको थियो । बाँकी १२ जना चाँही सम्पर्कमा आएका थिए ।

ज्यान गुमाउनेमा भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनार, भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार, सन्दीप विक र गोबिन्द शाही रहेका छन् ।