काठमाडौं,कैलाली-सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउने भएपछि कांग्रेसभित्रै दौडधुप बढेको छ ।

केन्द्रीय सत्ता समिकरणको सहमती अनुरुप सुदूरपश्चिमको मुख्यमन्त्री कांग्रेसको भागमा परेको छ । सोही मुख्यमन्त्री पदका लागि कांग्रेसभित्रै दौडधुप चलेको हो ।

अहिले प्रदेशका शीर्ष नेताहरु शक्तिकेन्द्र धाइरहेका छन् । कांग्रेसबाट आधा दर्जन नेताहरु मुख्यमन्त्रीका लागि लविङ गरिरहेका छन् । मुख्यमन्त्रीका लागि निर्वतमान मुख्यमन्त्री कमलबहादुर शाह, पुराना नेता बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाश देउवा केन्द्रमा लबिङ गरिरहेको स्रोत बताउँछ । निर्वतमान मुख्यमन्त्री कमलबहादुर शाह कांग्रेसभित्र प्रकाशमान सिंह समूहसँग नजिक रहेका छन् ।

शाहको निर्वाचन जिल्ला कैलाली रहेको र सभापति देउवा पत्नी आरजु राणाले विगतमा पनि कैलालीबाट प्रतिनिधि सभाको निर्वाचनमा पराजित ब्यहोरेको हुँदा आगामी निर्वाचनमा उनको सहजतालाई ध्यान दिँदै उनी मुख्यमन्त्रीमा दोहरिने सम्भावना रहेको कांग्रेस निकट नेताहरूको भनाई छ ।

यस्तै, कांग्रेसका पुराना नेता बहादुरसिंह थापाको निर्वाचन क्षेत्र कञ्चनपुर हो । देउवा गुटकै नेता एनपी साउद समूह मानिने थापाको यसपटक मुख्यमन्त्रीको सम्भावना रहेको बताइन्छ । अघिल्लो पटक उनी केन्द्रको निर्देशनपछि मुख्यमन्त्री बन्नबाट रोकिएका थिए ।

त्यस्तै, शेखर कोइराला समूहका दिवानसिंह बिष्ट पनि मुख्यमन्त्रीका लागि केन्द्रमा लबिङ गरिरहेका छन् । उनी कञ्चनपुरबाट प्रदेश सभामा निर्वाचित भएका थिए । यसका साथै पार्टी सभापति शेरबहादुर देउवाका भतिजा तथा प्रदेशका पूर्वमन्त्री प्रकाश पनि मुख्यमन्त्रीका लागि केन्द्रमा लबिङ गरिरहेको स्रोतले बतायो ।

यस्तै अछामका मेघराज खड्का पनि मुख्यमन्त्री बन्ने सम्भावना उत्तिकै छ । कांग्रेसको प्रदेश महामन्त्री समेत रहेका उनी मुख्यमन्त्री बन्ने सम्भावना प्रबल छ । पटक पटक अन्यायमा परेका उनलाई यसपटक भने सभापति देउवाले मुख्यमन्त्री बनाउने सम्भावना बढेको स्रोत बताउँछ । उनी अहिले सम्म मन्त्रीसमेत बनेका छैनन् ।

यसका साथै बैतडीका पूर्वमन्त्री शिवराज भट्ट र प्रमुख सचेक बिक्रम धामी लगायत पनि मुख्यमन्त्रीको आंकाक्षी रहेका छन् । उनीहरुले पनि कन्द्रिय नेताहरुलाई दबाव दिइरहेका छन् । यद्यपी अहिलेसम्म मुख्यमन्त्री कसलाई बनाउने भन्नेबारे निर्णय भइसकेको छैन् ।

एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्री सोडारीले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।