काठमाडौं - प्रिमियर लिग क्लब लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले क्लबसँग एक वर्षको सम्झौता थप गरेका छन् । 

नयाँ सम्झौता अनुसार ३३ वर्षीय भार्डी सन् २०२३ सम्म लेस्टरमै रहनेछन् । भार्डीको क्लबसंगको सम्झौता अझै दुई वर्ष बाँकी छ । योसंगै उनी क्लबमा ११ बर्ष रहनेछन् । उनी सन् २०१२ मा लेस्टर सिटीमा आबद्ध भएका थिए ।

गत सिजनमा मात्र भार्डीले प्रिमियर लिगमा सर्वाधिक २३ गोल गर्दै ‘गोल्डेन बुट’ अवार्ड जितेका थिए । सन् २०१५–१६ को सिजनमा लेस्टरलाई प्रिमियर लिगको उपाधि जिताउन भार्डीले मुख्य भूमिका खेलेका थिए ।

उनले उक्त सिजनमा २४ गोल गरेका थिए । गत जुनमा उनले प्रिमियर लिगमा १०० गोल समेत पूरा गरे । र उनी त्यस उपलब्धी हात पार्ने २९ औं खेलाडी बनेका छन् ।