काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।

बिहीबार बसेको क्यानको बैठकले खेलाडीलाई साढे दुई लाख र अफिसियलहरूलाई एक लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यु–१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।

नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो । यु–१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।