काठमाडौं - आज हुने भनिएको आइसिसी टी– २० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरण नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यस खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक–एक अंक बाँडेका छन् । नेपालसँग अंक बाँडेसँगै श्रीलंका भने सुपर ८ को दौडबाट बाहिरिएको छ ।

आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीच आज बिहान खेल हुने तयारी थियो । तर, लगातार पानी परेपछि खेल रद्द गरिएको हो । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रगंशालामा खेल हुने तयारी थियो । तर, लगातार पानी परेपछि टससमेत नभइ खेल रद्द भएको हो ।

पानी रोकिएपछि ग्राउण्ड स्टाफले मैदानको पानी सोस्ने काम गरे पनि पुनः वर्षा भएपछि टससमेत हुन सकेन । विश्वकपअन्तर्गत फ्लोरिडामा पहिलो खेल हुन लागेको थियो । आज अंक बाँडेसँगै नेपाल २ खेलबाट १ अंक जोड्दै चौथो स्थानमा छ ।

तीन खेलबाट १ अंक बनाएको श्रीलंका अंक तालिकाको पुछारमा छ । पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । श्रीलंका दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको हारेको थियो ।