काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिक व्यवस्था आमूल परिवर्तन गर्ने आन्दोलन हुँदा किशोर उमेरनै सक्रिय रहेको बताए । अब फेरी आन्दोलन आवश्यक नरहेको ओलीले पनि बताए ।

उनको यो भनाइ कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै पछिल्लो समय भइरहेका विरोध प्रदर्शनतर्फ लक्षित छ।

सोमबार वैकल्पिक सिकाइ प्रविधिको घोषणाका सन्दर्भमा नेपाल टेलिभिजनबाट शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र स्वच्छता कायम हुन्छ भन्नेमा ढुक्क रहन आग्रह गरे ।

'मैले सार्वजनिक भएका, देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरूको प्रश्न सुनेको छु' ओलीले भने- 'मुलुक बिग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन, सामाजिक सञ्जाललगायत आमसञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरूमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ?'

उनले भने 'आज म यी सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन। तर एकमुष्ट भन्न चाहन्छु– “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ। अबका दिनमा हाम्रा सन्तानहरू यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरूको भनाई झुठ्ठा सावित हुँदैन। हाम्रो मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक छैन।'

'अप्ठ्यारोमा द्विविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ। आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन। ढुक्क रहौं– मुलुक बन्छ। सुशासन, स्वच्छता कायम हुन्छ' प्रधानमन्त्री ओलीले भने ।