काठमाडौं - संयुक्त राष्ट्रसंघको 'युएन वुमेन'ले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा प्रकाशित गरेको छ । जसमा नेपालकी डा. रुना झा पनि परेकी छन् । उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक हुन् ।

उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्ने गरेको छ । प्रयोगशालामा परीक्षणका लागि नमुना आउने समय निश्चित हुँदैन । फेब्रुअरीको दोस्रो साता चीनको वुहानबाट १७५ नेपाली विद्यार्थी देश फर्काइएको थियो । उद्धार गरेर ल्याइएका विद्यार्थी राखिएको क्वारेन्टाइनमा प्रयोगशालाका टोली पहिलोपटक प्रवेश गरेको थियो । सोही समयदेखि झा लगायत कोभिड-१९ विरुद्धको लडाइमा सक्रिय छन् ।

त्यसैले अबेरसम्म प्रयोगशालामा बस्नु उनको लागि सामान्य बनिसकेको छ । उनी प्राविधिक काम त गर्छिन् नै, आफ्नो टोलीलाई यातायात र खानेकुराको व्यवस्थापन पनि उनैले गर्छिन् । उनी निरन्तर काममा सक्रिय छिन् । परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् ।

झासँगै युएन वुमेनको सूचिमा जोर्डनमा नयाँ प्रविधिको प्रयोग गर्दै त्यहाँका महिला र सिरियाली शरणार्थीको जीवन रक्षाको लागि काम गर्ने अमल अल महाईराह र महाडील दबाइबेह, चीनको क्विङहाई प्रान्तको ग्रामिण गाउँ सियारुओयाओको चेकप्वाइन्टमा बसेर स्वास्‍थ्य सेवा दिने यान शेङ्लियान, काजकस्तानमा हिंसामा परेकाको कुरा सुन्ने र आवश्यक सहयोग पुर्‍याउने डिना स्माइलोभा र क्यारेबिया सावधानीको संदेश प्रवाहमा सक्रिय र्‍यान्सिया हेन्री ती उत्कृष्ट महिला अभियान्ताको सूचीमा परेका छन्।