काठमाडौं - नेपालको पाम आयललाई भारतले प्रतिबन्ध लगाएपछि त्यसको असर निर्यातमा परेको छ । यो आर्थिक वर्ष ५ महिनामा जम्मा ४ लाखको पाम आयल निर्यात भएको छ । जबकि अघिल्लो वर्ष सोही अवधिमा ११ अर्बको निर्यात भएको थियो ।

भारतको प्रतिबद्ध पछि व्यापारीहरुले पाम तेल छोडेर भटमासको तेल निर्यातमा जुटेका छन् । भारतले अन्य देशबाट आउने खाने तेलमा भने ४५ प्रतिशत कर लगाउँछ तर, नेपालबाट जाने कृषिजन्य बस्तुमा भने शून्य भन्सारको सुविधा छ । यसको फाइदा उठाउन सीमा क्षेत्रका व्यापारीले तेस्रो मुलुकबाट आयात गरेर भारतमा पाम आयल निर्यात गर्थे ।

भारतले नेपालबाट जाने पाम आयलमा १ वर्षअगाडि प्रतिबन्ध लगायो । भारत सरकारले प्रशोधित पाम तेल र पामोलिन तेल आयातमा प्रतिबन्ध लगाएको हो । काश्मिर मुद्धामा मलेसियाका प्रधानमन्त्रीले भारत विरोधी अभिव्यक्ति दिएको भन्दै भारतको आपूर्ति मन्त्रालयले पाम आयलको आयात रोक्ने निर्णय गरेको थियो । भारतमा सबैभन्दा बढी पाम आयलको आयात मलेसियाबाट हुने गरेको थियो । संयुक्त राष्ट्रको महासभामा बोल्दै मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले नयाँ दिल्लीले काश्मिर हडपेको बताएका थिए । सो अभिव्यक्ति पश्चात भारतले पाम आयलको निर्यातमा प्रतिबन्ध लगाएको हो । द डिप्लोम्याट म्याग्जिनले काश्मिर मुद्धामा दुई देशबीच रहेको असमझदारी पाम आयलमा पोखिएको जनाइएको छ ।

भारतीय बजार बन्द भएकाले यो आर्थिक वर्ष पाम आयलको निर्यात ठप्पजस्तै भयो । गत आर्थिक वर्ष मंसिरसम्म ११ अर्बको पाम आयल निर्यात भएकोमा यो वर्ष ४ लाखमै सिमित भयो । व्यापारीहरु यसपाली भटमासको तेलतिर लागेका छन् । उनीहरुले तेस्रो मुलुकबाट आयात गरेर शून्य भन्सार शूल्कमा भटमासको तेल भारत निर्यात गरिरहेका छन् । भन्सार विभागको ताजा तथ्याकंले त्यसलाई पुष्टि गर्दछ । यो वर्ष ५ महिनामा १४ अर्बको भटमासको तेल निर्यात भइसकेको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा ४ गुणाभन्दा बढी हो ।

भन्सार विभागका महानिर्देशकका सुमन दाहालका अनुसार “भटमासको कच्चा तेल हेर्ने हो भने गतवर्ष ६ अर्वको निर्यात भएको थियो भने अहिले १४अर्बभन्दा बढीको निर्यात भयो । कच्चा पाम आयलको सट्टामा कच्चा भटमासको तेलले ठाँउ लिन थालेको देखिएको छ । बजारको मागको आधारमा वा भारतले पाम आयातलाई रोकेपछि भटमासको तेलको माग बढेको हुनसक्ने दाहालले बताए ।”

व्यापारीले निर्यात गरेका तेलका लागि आवश्यक भटमास भने स्वदेशमा उत्पादन हुदैन । यहाँको उत्पादनले स्वदेशमै माग धान्दैन । त्यसैले व्यापारीले भटमासको तेलको कच्चा पदार्थ ब्राजिल र अर्जेन्टिनाबाट आयात गर्ने गरेका छन् । ५ महिनामा १४ अर्ब ६७ करोडको कच्चा पदार्थ आयात गरिएको छ । रुपन्देहीका उद्योगीहरुका अनुसार मुख्यरुपमा तेलको निर्यातमा केही सुबिधा भारत सरकारबाट पाएका छौँ । उद्योगले पनि थप काम पाएको छ भने थप निर्यात पनि बढाएको छ । निर्यात हुनु हाम्रो लागि राम्रो कुरा भएको उद्योगीहरु बताउँछन् ।