काठमाडौं - नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ। कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो। यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ, मात्र नाम झिकिएको छ ।

जम्मु कश्मीरलाई दुई प्रान्तमा विभाजन गरेपछि जारी नक्सामा भारतले काली नदीलाई पुरानै स्थानमा राखेको थियो। लिम्पियाधुरालाई काली नदी मुहान स्वीकार गरेको थियो। सर्भे अफ इन्डियाले तीन साता नबित्दै नवौं संस्करणको नक्सा बाहिर ल्याएको हो।

भारतले नक्सालाई उलटपुलट गर्दै नेपाली भूमि अतिक्रमण गरिरहेको छ। सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी स्पष्ट छ। सन् १८५६ सम्म जारी नक्सामा काली नदीको मुहान अर्थात् लिम्पियाधुरासम्मकै भूभाग नेपाली भएको प्रस्ट थियो।

सीमाविद् पुण्यप्रसाद ओलीले भारतले नक्सा बंग्याएर नेपाली भूमि अतिक्रमण गरेको विषय नयाँ नभएको बताए। ‘भारतले सन् १८५६ देखि नै ‘कार्टोग्राफिक इन्क्रोचमेन्ट’ गर्दै आएको छ,’ उनले भने, ‘यसपछि पटकपटक नक्सा बंग्याउने काम भइरहेको छ।’ उनका अनुसार भारतले काली नदीलाई तीन ठाउँमा सारिसकेको छ।

सन् १९६२ मा भारत र चीन युद्धपछि तत्कालीन नेपाल सरकारकै सहमतिमा कालापानीमा भारतीय सेना बस्यो। भारतले त्यही भूभागमा छुट्टै कुलो बनाएर लिपु खोलाको पानी ल्याएर पोखरी बनायो। त्यसैबाट निकालेर कृत्रिम काली नदी बनायो। भारतले लिम्पियाधुरा क्षेत्रको ३३५ र कालापानी लिपुलेकको ६० वर्गकिलोमिटरसहित ३९५ वर्गकिलोमिटर नेपाली भूभाग कब्जा गरेको छ।

सुगौली सन्धिअनुसार नावी, कुटी, गुन्जी र गव्र्याङ गाउँ नेपालमा पर्छ। २०१८ सालमा ती गाउँको जनगणना नेपालबाटै भएको थियो। नापी विभागका पूर्वमहानिर्देशकसमेत रहेका ओलीका अनुसार नेपाल अझै चुप लगेर बसेमा १० किलोमिटरपूर्वको टिंकर खोलालाई भारतले सीमा नदी भन्न बेर लाउने छैन।

अन्नपूर्ण पोस्टबाट